
NPL खेलहरू पाइरेसी नगर्न क्यान सचिव पारस खड्काको आग्रह, यी हुन् आधिकारिक माध्यम
काठमाडौँ/झापा — नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आसन्न ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ का खेलहरू अनधिकृत रूपमा (पाइरेसी गरेर) नहेर्न सम्पूर्ण क्रिकेट समर्थकहरूलाई विशेष अनुरोध गरेका छन्।
काठमाडौँ/झापा — नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आसन्न ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ का खेलहरू अनधिकृत रूपमा (पाइरेसी गरेर) नहेर्न सम्पूर्ण क्रिकेट समर्थकहरूलाई विशेष अनुरोध गरेका छन्।
शुक्रबार एक भिडियो सन्देश जारी गर्दै सचिव खड्काले पाइरेसी नियन्त्रण गर्दै आधिकारिक माध्यम प्रयोग गरेर नेपाली क्रिकेटको समग्र विकासमा हातेमालो गर्न अपिल गरेका हुन्।
अनधिकृत प्रसारणले खेलको समग्र संरचना र विकासमा प्रत्यक्ष असर पुर्याउने उल्लेख गर्दै सचिव खड्काले भने, “हाम्रा लागि पाइरेसी नियन्त्रण गर्नु अत्यन्त महत्त्वपूर्ण छ। आधिकारिक च्यानलहरू सब्स्क्राइब गरेर खेल हेर्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव नेपाल क्रिकेट संघ, यसको विकास तथा क्रिकेटको समग्र आम्दानी प्रणाली (रेभिन्यु सिस्टम) मा पर्छ। यसको सब्स्क्रिप्सन धेरै महँगो पनि छैन।”
उनले समर्थकहरूको साथ र सहयोगले नै भविष्यमा अझ बलिया संरचनाहरू निर्माण गरी एनपीएल लगायत अन्य ठूला प्रतियोगिताहरू आयोजना गर्न सम्भव हुने भन्दै पाइरेसीलाई 'नाई' भन्न आग्रह गरे।
क्यानले ‘पाइरेसीलाई नाई भनौँ : नेपाली क्रिकेटलाई समर्थन गरौँ’ भन्ने नाराका साथ खेलहरू आधिकारिक माध्यमबाट मात्र हेर्न आह्वान गरेको छ।
खेल हेर्ने आधिकारिक माध्यमहरू:
क्यानले एनपीएलको प्रत्यक्ष प्रसारणका लागि निम्न अनुसारका आधिकारिक माध्यमहरू तोकेको छ:
नेपालभित्र टेलिभिजनमा: हिमालय स्पोर्ट्स (Himalaya Sports)
नेपाल र विश्वभर मोबाइल/ओटीटीमा: नेट टिभी एप (NET TV App)
अन्तर्राष्ट्रिय स्तरमा टेलिभिजन प्रसारण: स्टार स्पोर्ट्स (Star Sports)
२६ अक्टोबरदेखि प्रतियोगिता सुरु
एनपीएलको तेस्रो संस्करण आगामी २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म सञ्चालन हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
उद्घाटन खेल ९ कात्तिक दिउँसो ४:३० बजेदेखि सुरु हुने तालिका रहेको छ। क्यानले सम्पूर्ण खेलप्रेमीहरूलाई आधिकारिक प्लेटफर्ममार्फत खेल हेरेर नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउन सहयोग गर्न पुनः अनुरोध गरेको छ।




