
HackiOS: एन्ड्रोइड हार्डवेयरमा चल्यो Apple iOS 16.5!
यो ओपन-सोर्स कोड गिटहब (GitHub) को oosexgang/hackios-xnu-kernel रिपोजिटरीमा Apple Public Source License 2.0 (APSL 2.0) अन्तर्गत सार्वजनिक गरिएको छ
काठमाडौँ/झापा — प्रविधि क्षेत्रका लागि असम्भव मानिएको एउटा प्राविधिक सफलता हासिल गर्दै एन्ड्रोइड स्मार्टफोनमा एप्पलको आधिकारिक अपरेटिङ सिस्टम (iOS) सफलतापूर्वक सञ्चालन गरिएको छ। ‘OOSEX GANG’ नामक स्वतन्त्र डेभलपर समूहले ‘HackiOS’ नाम दिइएको ओपन-सोर्स (Open-source) प्रोजेक्टमार्फत एन्ड्रोइड हार्डवेयरमा iOS 16.5 बुट (Boot) गराउन सफलता पाएको हो।
यो ओपन-सोर्स कोड गिटहब (GitHub) को oosexgang/hackios-xnu-kernel रिपोजिटरीमा Apple Public Source License 2.0 (APSL 2.0) अन्तर्गत सार्वजनिक गरिएको छ।
कसरी सम्भव भयो एन्ड्रोइडमा iOS?
सामान्यतया, एप्पलले आफ्नो सफ्टवेयरलाई आफ्नै हार्डवेयर (iPhone) भित्र कडा सुरक्षा र नियन्त्रणमा राख्छ। तर, ‘HackiOS’ टिमले एप्पलको ओपन-सोर्स XNU Kernel (xnu-8796.121.2) लाई एन्ड्रोइडका लागि प्रयोग हुने Snapdragon प्रोसेसर्स र custom UEFI लोडरसँग एकीकृत गरी चलाउन सफल भएको हो।
यस प्रक्रियामा एप्पलको आधिकारिक CDN बाट प्रयोगकर्ताले आफैँ iOS 16.5 को IPSW फाइल डाउनलोड गरी एक्स्ट्र्याक्ट गर्छन्, जसले गर्दा गिटहब कोडमा कुनै पनि कपीराइट गरिएका एप्पलका फाइलहरू समावेश छैनन्।
के-के काम गर्छन् र के-के चल्दैनन्?
प्रारम्भिक परीक्षण (जस्तै: POCO X5 Pro 5G र केही Xiaomi फोनहरूमा) अनुसार यो प्रोजेक्टमा मुख्य युजर इन्टरफेस र केही बेसिक फिचरहरू सहजै चलेका छन्।
हाल चल्ने फिचरहरू (Working Features):
युजर इन्टरफेस: लक स्क्रिन (Lock Screen), होम स्क्रिन, कन्ट्रोल सेन्टर र सेटिंग्स।
प्रणाली एपहरू: Safari ब्राउजर, Clock, Calendar, Photos, Notes एपहरू।
कनेक्टिभिटी र हार्डवेयर: Wi-Fi (५५ देखि ९० Mbps को स्पीडमा), मल्टिटच, स्पिकर, माइक र क्यामेरा (तस्बिर खिच्न सकिने)।
डेभलपर टुल: Sileo प्लगइन इन्स्टलेसन र SSH कमान्ड।
हाल काम नगर्ने फिचरहरू (Not Supported / Work in Progress):
सिम र ब्लुटुथ: टेलिफोन नेटवर्क (Cellular connectivity) र ब्लुटुथले अझै काम गर्दैनन्।
App Store र Apple ID: एप्पलको Secure Enclave चिप नहुने भएकाले Apple ID लगइन र App Store सपोर्ट उपलब्ध छैन।
चार्जिङ र ग्राफिक्स: मेटल (Metal) ग्राफिक्स इन्जिन पूर्ण रूपमा चल्न बाँकी छ (४५६ मध्ये २९३ सेडर्स मात्र चलेका छन्)।
प्रयोगकर्ताका लागि ध्यान दिनुपर्ने कुरा
यो प्रोजेक्ट हाल प्रारम्भिक र अनुसन्धानको चरणमा (Experimental Stage) छ। यो एउटा मेमोरी-रेजिडेन्ट बुट प्रक्रिया हो, जसको अर्थ फोन रिबुट गर्दा पुन: सामान्य एन्ड्रोइड प्रणालीमै फर्किन्छ।
सुरक्षा विज्ञहरूका अनुसार यो टुल दैनिक प्रयोगका लागि तयार भइसकेको छैन। साथै, बजारमा 'HackiOS' का नाममा आउन सक्ने फेक (Fake) डाउनलोड वा APK फाइलहरूबाट सचेत रहन र केवल आधिकारिक गिटहब रिपोजिटरीलाई मात्र पछ्याउन डेभलपर समुदायले आग्रह गरेका छन्।
डेभलपरहरूले यस प्रोजेक्टलाई निरन्तर अपडेट गरिरहेका छन् र भविष्यमा अन्य एन्ड्रोइड चिपसेट र ड्राइभरहरूलाई समेत सपोर्ट गराउने दिशामा काम भइरहेको जनाएका छन्।




